खलङ्गा, ६ मङ््सिर (रासस) : पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त हुनुहुन्छ । उहाँ जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि पर्नुभएको छ । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उहाँले बताउनुभयो । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । उहाँ नर्सरीमै दिन बिताइरहनुभएको छ । बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र रेखदेख गर्ने उहाँको दैनिकी हो ।
उहाँले भन्नुभयो, “यो हाइटेक नर्सरी तिला– ७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ, अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित बिरुवा नै हुनेछन्, पहिले जडीबुटी कोर्नुपर्छ, वन जङ्गल फँडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो, अहिले जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ, वन जङ्गल जोगाउनुपर्छ, जलवायु परिवर्तनको असर कम गर्न वृक्षरोपणका क्रियालकपमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ ।”
हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, वुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले जनाएको छ ।
विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा रु २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताउनुभयो । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् ।
नर्सरीमा छरिएको बीउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको छ । अहिले नर्सरीको अवस्था राम्रो छ । चिसो मौसममा पनि निकै राम्रो देखिएको छ । मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्किन्छन् । जडीबुटीका बारेमा चासो राख्ने गरेको सो नर्सरीका सञ्चालक बताउँछन् ।
यो पनि – सुक्खा बन्दरगाह निमार्णको काम पूरा भएन
बाँके, ६ मङ्सिर (रासस) : भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।
“भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ”, नेपालगन्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भन्नुभयो, “भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरुप अगाडि बढ्न सकेको कहिले छैन ।”
जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उहाँले बताउनुभयो । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारत सरकारले लगानी गर्नुपर्ने हो ।
इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ । “हामीले पहुँच मार्ग निर्माणको काम पूरा ग¥यौ, बाँकी काम भारत सरकारले गर्नेछ”, उहाँले भन्नुभयो, “आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।” बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसिपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनाका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताउनुभयो । “भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।” अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुनसक्ने जनाउँदै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो । मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउनका लागि पहल गर्न आवश्यक देखिएको उहाँको भनाइ छ ।



प्रतिक्रिया