बाँके, ६ मङ्सिर (रासस) : भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।
“भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ”, नेपालगन्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भन्नुभयो, “भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरुप अगाडि बढ्न सकेको कहिले छैन ।”
जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उहाँले बताउनुभयो । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारत सरकारले लगानी गर्नुपर्ने हो ।
इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ । “हामीले पहुँच मार्ग निर्माणको काम पूरा ग¥यौ, बाँकी काम भारत सरकारले गर्नेछ”, उहाँले भन्नुभयो, “आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।” बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसिपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनाका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताउनुभयो । “भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।” अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुनसक्ने जनाउँदै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो । मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउनका लागि पहल गर्न आवश्यक देखिएको उहाँको भनाइ छ ।
यो पनि – २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै
वीरगञ्ज, ६ मङ्सिर (रासस) : पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।
नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो ।
सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डिएपी)लाई अब तत्कालै नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार यसपटक भित्रिएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपीमध्ये नौ हजार भैरहवा नाकाबाट, नौ हजार ५०० वीरगञ्ज नाकाबाट र छ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिने छ ।
यस पटक भित्र्याइएको रासायनिक मल डिएपी विशेष गरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । भारतीय सप्लायर्स कम्पनी इञ्जीयन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डिएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा पर्दछ ।
नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ ।
खोप भण्डारण कक्ष स्थापना
प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ । बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो ।
स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध प्रकारका खोप व्यवस्थापन सहज हुने अपेक्षा गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । उक्त खोप भण्डारण कक्षमा आवश्यकताअनुसार खोप चिसो बनाइ राख्ने रेफ्रिजेरेटर, आइस प्याकफ्रिजर, भ्याक्सिनक्यारियर, कोल्ड बक्सलगायत उपकरण व्यवस्थापन गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रितेश जयसवालले जानकारी दिनुभयो ।
खोप भण्डारण कक्ष सञ्चालनमा आएसँगै महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने बताइएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गर्नुपर्ने बाध्यता थियो । अब खोप सहजरुपमा उपलब्ध हुने महानगरपालिकाले बताएको छ ।



प्रतिक्रिया