जाजरकोट, ६ मङ्सिर (रासस) : नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ ।
सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका उहाँ आम्दानी घटेपछि अहिले निराश हुनुहुन्छ । बुढा र पुन उदाहरणका पात्र हुनुहुन्छ । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन् । गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।
मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उहाँको भनाइ थियोे । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो ।गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् ।
यो पनि – महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा
भक्तपुर, ६ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उहाँले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
उहाँले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गर्नुभएको छ । सो आधारपत्रमा उहाँले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया