कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । “गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।
यही मङ्सिर १४ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले यही मङ्सिर २ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । सत्ता गठबन्धन दलमा १२ प्रदेशसभा सदस्य भएको नेकपा (माओवादी केन्द्री)ले चार मन्त्री, तीन प्रदेशसभा सदस्य भएको नेकपा (एकीकृत समाजवादी)ले तीन तथा ६ प्रदेशसभा सदस्य भएको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई मन्त्री पाउनुपर्ने अडान लिँदै आएका छन् ।
यो पनि – एमाले स्थायी कमिटी बैठक स्थगित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो । एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ । यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।
यो पनि -देशभर कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ भएको छ । तोकिएको मितिमा आज १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भएको, मनोनयन गरी मतदान तोकिएको, सर्वसम्मतिको प्रयास भइरहेकोलगायतका देशभरबाट जानकारी प्राप्त भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो । आज प्रारम्भ हुन नसकेका निर्वाचन क्षेत्रमा समितिको सहमतिमा भोलिदेखि अधिवेशन प्रारम्भ हुने उहाँले बताउनुभयो ।
यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गतेका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४आँै महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।
एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिले जनाएको छ । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा भने वडा अधिवेशन प्रारम्भ हुन बाँकी छ ।
प्रतिक्रिया