तीन दिनमा सात अर्बले घट्यो निक्षेप

तीन दिनमा सात अर्बले घट्यो निक्षेप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको छ ।  गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ । यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले लगातार निक्षेप र कर्जाको अवस्थाका बारेमा जानकारी गराउँदै आएको छ ।

गत साउन मसान्तमा वाणिज्य बैंकमा रु ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला रु ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म रु ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा रु ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो । असोज मसान्तसम्म रु ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने रु ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

नेपाल बैंकर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ । सोही अवधिमा कर्जा रु ३६ अर्बले बढेको छ । सङ्घका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप रु सात अर्बले घट्दा कर्जा लगानी रु सात अर्बले बढेको छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मक रुपमा वृद्धि नभएका कारणले गर्दा निक्षेपमा चाप परेको सङ्घले जनाएको छ ।

यो पनि – सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अङ्कले उकालो लागेर दुई हजार ७६५.४३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अङ्कले उकालो लागेर ५१९.४६ मा पुगेको छ । नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर रु तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने आठ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.८९, व्यापार १५.८३, होटल तथा पर्यटन १४९.७६, जलविद्युत् १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.७२ अङ्कले उकालो लाग्यो ।

यस्तै, विकास बैंक ३४.९९, वित्त २३.२९, उत्पादन २४.९१, लघुवित्त १४.५७ र जीवन बीमा ७.०८ अङ्कले ओरालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ८९ अर्ब ६० करोड ७० लाख ६९ हजार ६८५ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड ४१ लाख २५ हजार ५०२ बराबरको कारोबार भयो ।

त्यस्तै, दूरसञ्चार कम्पनी रु २९ करोड १८ लाख ६७ हजार ४०६, अरुण काबेली पावर रु १४ करोड ८७ लाख ६७ हजार ९३, हिमाल दोलखा हाइड्रोपावर रु १४ करोड २७ लाख ८३ हजार ४३ र नबिल बैंक रु १२ करोड ४८ लाख ४५ हजार ७६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरि हिल्स ९.७५, एनआइबिएल प्रगति फन्ड ६.७६, खानीखोला हाइड्रोपावर ५.०३ र नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७०, रिलायन्स फाइनान्स ३.०६, तेह्रथुम पावर कम्पनी २.६०, साना किसान विकास बैंक १.९८ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए ।