बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल आज प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद रु ५१ हजारसहित सम्मान गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललार्ई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको बताउनुभयो । उहाँले यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले समेत प्रोत्साहन गर्ने बताउनुभयो ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब रु एक लाख १० हजार खर्च गरेर मोटरसाइकल तयार गर्नुभएको हो । हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलले बताउनुभयो । ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ ।
हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्ने पोखरेलले बताउनुभयो । यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेको बताउनुभयो । पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ । पोखरेलको मनोबल बढाउन विद्यालयले आज सम्मान गरेको उहाँले बताउनुभयो ।
यो पनि – भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरेका सो कम्पनीमध्येबाट प्राधिकरणले चार कम्पनी छनोट गरेको हो ।
प्राधिकरणले फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्यान्डको थाइकमलाई सट लिस्टमा राखेको हो । यी चार कम्पनीले बुझाएको प्राविधिक र आर्थिक मूल्याङ्कनका आधारमा उत्कृष्ट एक कम्पनीलाई स्याटेलाइट प्रक्षेपणसम्बन्धी काम सुरु गर्न प्राधिकरणले अनुमति दिनेछ ।
यसअघि उत्कृष्ट कम्पनी नआएको भन्दै प्राधिकरणले स्याटेलाइट जडानको प्रक्रिया नै रद्द गरेको थियो । गत वर्षको मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर प्राधिकरणले भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो । प्राधिकरणको प्रस्तावअनुसार गत पुसमा विभिन्न देशका नौवटा कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेस गरेका नौ कम्पनीमध्ये प्राधिकरणले पाँच कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो ।
गत वर्ष अयोग्य भएको फालिएका फ्रान्सको युरो कन्सल्ट र युएईको एसथ्री टेल इङ्क पुनः छनोटमा परेका छन् । गत वर्ष दुई कम्पनीसहित अन्य चार कम्पनीले पठाएको आर्थिक प्रस्ताव अयोग्य भएको भन्दै प्राधिकरणले स्याटेलाइट जडानको प्रक्रिया नै रद्द गरेको थियो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले छनोटमा परेका चार कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सो कम्पनीबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामहरूको जिम्मा एक कम्पनीलाई दिनेछ ।
सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत वर्ष भू–उपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।
अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिङ्गापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रुस र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरी सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।



प्रतिक्रिया