सिन्धुलीमा उद्धार गरिएका एक बालक र तीन बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । आज प्रहरीले बालबालिका अभिभावकको जिम्मा लगाएको हो । हिजो साँझ बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरबाट उद्धार गरिएका बालबालिकालाई प्रहरीले आज अभिभावकको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–२, दुधौली नगरपालिका–१ र लमजुङको मस्र्याङ्दी गाउँपालिका बालबाललिका–१ गरी चार बालबालिका अभिभावकको जिम्मा लगाइएको हो । कमलामाई नगरपालिका–१ घर भई सूर्यविनायक–६ बस्दै आएका १२ वर्षीय सुनिता भुसाल र सात वर्षीय रिदम भुसाललाई आमा कल्पना भुसालको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।
यस्तै, दुधौली नगरपालिका–१४ घर भएकी ११ वर्षीया अस्मिता तामाङलाई आमा सुनमायाँ तामाङको जिम्मा लगाइएको छ भने लमजुङ मस्र्याङदी गाउँपालिका–२ घर भएकी १३ वर्षीया सीमा तामाङलाई बुबा धनबहादुर तामाङको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनीहरु भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा डेरा बस्दै आएकामा अभिभावकलाई कुनै जानकारी नदिई सिन्धुली आएको र सिन्धुलीबाट अलपत्र भएपछि पुनः काठमाडौँ जाने क्रममा प्रहरीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो । राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा आफ्नो घरका अविभावक कोही कसैलाई नसोधी आफूखुसी घरबाट भागी हिँडेको उनीहरुले बताएपछि प्रहरीले अभिभावकलाई बोलाएको थियो ।
यो पनि – नवीनका विद्यार्थी सागरले बनाए विद्युतीय मोटरसाइकल
बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल आज प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद रु ५१ हजारसहित सम्मान गरेको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललार्ई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको बताउनुभयो । उहाँले यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले समेत प्रोत्साहन गर्ने बताउनुभयो ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब रु एक लाख १० हजार खर्च गरेर मोटरसाइकल तयार गर्नुभएको हो । हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलले बताउनुभयो । ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ ।
हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्ने पोखरेलले बताउनुभयो । यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेको बताउनुभयो । पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ । पोखरेलको मनोबल बढाउन विद्यालयले आज सम्मान गरेको उहाँले बताउनुभयो ।



प्रतिक्रिया