राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिनुभयो । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।
गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताउनुभयो । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ ।
जडीबुटी सङ्कलनले गणकलाई फारम भर्न समस्या
जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी सङ्कलन गर्न गएका छन् । यसले उनीहरुको विवरण सङ्कलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताउनुभयो । “अधिकांश नागरिक जडीबुटी सङ्कलनका लागि वनपाखातिर गएका छन्”, उहाँले भन्नुभयो । जडीबुटी सङ्कलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चङ्खेली गाउँपालिका–५ का बासिन्दा यतिबेला जडीबुटी सङ्कलन गर्न वन गएका छन् । उनीहरु पुसपछि मात्रै घर फर्किन्छन् ।
यो पनि – कांग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी
नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ । क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो ।
यस्तै निर्वाचन क्षेत्र नं २ र १ मा अहिले मतगणना जारी छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भीडन्त हँुदैछ ।



प्रतिक्रिया