नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहनुभएका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित हुनुभएको हो । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिनुभयो । उहाँ पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुनुहुन्छ ।
यो पनि – कांग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी
नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ । क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो ।
यस्तै निर्वाचन क्षेत्र नं २ र १ मा अहिले मतगणना जारी छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भीडन्त हँुदैछ ।
यो पनि – चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै
उदयपुर, ७ मङ्सिर (रासस) : चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।
गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताउनुभयो । कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताउनुभयो ।
चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण काम निर्माण तथा व्यवस्थापन भइसकेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको हो । “अब पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो । चौदण्डीमा भ्यूटावर, खानेपानीसहित सडक व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
नगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासमा नयाँ योजना सञ्चालन गरेको नगरप्रमुख राईले बताउनुभयो । समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रको महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट प्रदेश नं १ को धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको अवलोकन गर्न सकिन्छ ।
यस्तै तराईका सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर, सुपौलाको अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ । सन् १७७३ सम्म ऐतिहासिकरूपमा पूर्वकै सेनवंशको राजधानी र राज्य रहेको उदयपुरको पूर्वी पहाडी क्षेत्र चौदण्डीगढीमा केही वर्षयतादेखि पर्यटन विकासको पूर्वाधार तीव्ररूपमा तयार हुँदै गएको छ ।
विगतमा चौदण्डीगढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने तथा दरबार परिसरको संरक्षणसमेत भइरहेको छ । सन् १७७१ सम्म पूर्वका चौदण्डी, विजयपुर र कमला क्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको पूर्वप्रध्यापक डा अपार लम्साल बताउनुहुन्छ । सन् १६७१ मा पूर्वको सेनराज्य विभाजनपछि विजयपुर र चौदण्डीगढीमा विभाजित भई चौदण्डीगढी राज्य रहन गएको इतिहासविद् बताउँछन् ।
चौदण्डीका पहिला राजा जगत सेन थिए भने त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र चौथौ अन्तिम राजा बुद्धिकर्ण सेन रहेको इतिहास छ । सन् १६ जुलाई १७७३ मा गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजका अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा चौदण्डीगढीमा आक्रमण गरी नेपालमा गाभिएको इतिहास छ । कोभिड सङ्क्रमणका कारण पर्यटन विकासका केही अधुरा काम बाँकी रहेको र पर्यटक आगमन बन्द हुन पुगे पनि मङ्सिर लागेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो ।



प्रतिक्रिया