वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहँुदा सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् । ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको स्थानीयवासीले गुनासो गरेका छन् । कामविशेषले भन्सार क्षेत्र वा नजिकको भारतीय बजार रक्सौल जानुपर्दा जोखिममा यात्रा गर्नु परेको महानगरपालिका–२ छपकैयाका असहाब आलमले जानकारी दिनुभयो । उहाँले बिग्रिएको सडकका कारण दुर्घटनाको जोखिमसँगै वर्षाका बेला हिलो र हिउँदका बेल धुलोसमेत आफूहरुले खेपिरहेको गुनासो गर्नुभयो ।
वीरगञ्ज भन्सार अगाडिकै मुख्य सडक वर्षौंदेखि बिग्रिए पनि सम्बन्धित निकायलाई उक्त सडक मर्मतसम्भारको कुनै चासो नहुनु दुर्भाग्यपूर्ण रहेको महानगरपालिका–१४ गण्डक निवासी अब्दु सैफ अन्सारीको भनाइ छ । उहाँले बिग्रिएको सडकको कारण सो क्षेत्र सधैँ धुलोम्मे हुने गरेको बताउनुभयो ।
व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जीवकुमार गुप्ताले घण्टाघरदेखि मितेरी पुलसम्मको सडकमा रहेका खाल्टाखुल्टीलाई पुरी कालोपत्र गर्न र आवश्यकतानुसार १७ मिटर चौडाइको सडक नै निर्माण गर्ने योजनासहितको अनुमान भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा बुझाएको र मन्त्रालयले स्वीकृति दिनेबित्तिकै काम सुरु गर्ने बताउनुभयो ।
यो पनि – दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण
वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएसँगै अब अक्सिजन आवश्यक पर्ने बिरामीलाई सेवा दिन सहज हुने भएको हो ।
यस नपाका १० वटै वडाका स्वास्थ्यचौकीलाई अमेरिकन संस्था गर्डेन अफ द एन्जल्सले करिब रु १२ लाख मूल्य बराबरको उक्त उपकरण भोलेन्टियरर्स नेपाल नेशनल ग्रुपको सहयोगमा प्रदान गरिएको नगरपालिकाका सामाजिक विकास समितिकासंयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।
कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको स्मरण गर्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने बताउनुभयो । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागार्इंले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणका सही उपयोग गराउने बताउनुभयो ।



प्रतिक्रिया