नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने आयोगका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।
आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिनुभयो । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उहाँका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उहाँले बताउनुभयो । उहाँले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताउनुभयो । निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।
महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशनस्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ । दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताउनुभयो । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मतपरिणाम घोषणा गर्ने बताउनुभयो ।
यो पनि- माओवादी घटकको एकता अनिवार्य छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समृद्धिका लागि पूर्वमाओवादीबीच ध्रुवीकरण हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित गराउन माओवादी घटकबीच एकता अनिवार्य रहेको बताउनुभयो ।
“निराशा र कुण्ठा हटाउँदै नयाँ ऊर्जाका साथ समाजवादी क्रान्तिलाई अगाडि बढाउन नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रविधि सुहाउँदो पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । प्रेस सेन्टर नेपालका निवर्तमान उपाध्यक्ष बलराम थापाले पत्रकारले जनताको विषयलाई उठाउनुपर्ने बताउनुभयो । सेन्टरका निवर्तमान उपाध्यक्ष सचिन रोकाले पत्रकारितालाई बलियो बनाउन पत्रकारको क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनुभयो ।
यसैबीच, तेस्रो अधिवेशनबाट प्रतिष्ठान प्रदेशको अध्यक्षमा वीरेन्द्र वली सर्वसम्मति चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रघुनाथ बजगाईं, खुल्ला उपाध्यक्षमा शम्भु दङ्गाल, समावेशी उपाध्यक्षमा छत्रबहादुर श्रेष्ठ, प्रमुख सचिवमा तुलसी सापकोटा, सचिव खुलामा अशोक घिमिरे, विमल खड्का, विजय फुयाँल, जनजाति सचिवमा विवेक लोप्चन, महिला सचिवमा पार्वती खड्का, मधेसी सचिवमा विजय यादव, दलित सचिवमा लक्ष्मण दर्नाल र कोषाध्यक्षमा रामचन्द्र बस्नेत चयन हुनुभएको छ ।
रासस शाखाको अध्यक्षमा श्रेष्ठ निर्वाचित
प्रेस सेन्टर नेपाल रासस शाखा अध्यक्षमा रत्नकृष्ण श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ । संगठनको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना, सहसचिवमा समुन्द्रा घिमिरे र कोषाध्यक्षमा नवीन पौडेल निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यमा विष्णुप्रसाद लामिछाने, जमुना धमला, शशीधर अधिकारी र प्रदीपराज वन्त निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हरि लामिछानेले सङ्गठनलाई एकताबद्ध बनाएर लैजान तथा श्रमजीवि जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया