गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताउनुभएको हो ।
“सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल जारी छ ।” एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
विकसित देशमा क्रिप्टोकरेन्सीको कुरा भइरहे पनि हामीले सबैभन्दा पहिले पूर्णरूपमा डिजिटल कारोबारमा जानुपर्ने बताउँदै उहाँले डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक छ भन्नुभयो । सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पूँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनजीर्वित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चयकोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । उहाँले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको बताउनुभएको हो । “विदेशमा रहेकाको सञ्चयकोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ”, मन्त्री शर्माले भन्नुभयो ।
यो पनि – नेप्सेमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रु चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यम खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै १९.९३ अङ्कले उकालो लाग्यो । यस्तै, बैंकिङ १५.४, व्यापार ४५.५१, होटल तथा पर्यटन ९३.५५, विकास बैंक ११९.९८, जलविद्युत् ७५.४४, वित्त ८८.७, निर्जीवन बीमा २०१.५, उत्पादन १०१.०५, लघुवित्त ५६.०४, जीवन बीमा १८९.५२, सामूहिक लगानीकोष ०.०७ र लगानी १.३४ अङ्कले घटेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर १२ करोड २१ लाख २४ हजार ७८१ र महालक्ष्मी विकास बैंक १० करोड ४२ लाख ७१ हजार ५६८, अपि पावर कम्पनी रु १० करोड ३३ लाख ५६ हजार र अरुण काबेली पावर रु नौ करोड ७० लाख ५३ हजार ३३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३५ अर्ब ८८ करोड २० लाख ४४ हजार १८ बराबर भएको छ । नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, दूरसञ्चार कम्पनी २.५९, गणपति लघुवित्त २.४९, सामुदायिक लघुवित्त १.९६ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले १.९१ प्रतिशतले कमाए ।
त्यस्तै, आइसिएफसी फाइनान्स ५.८४, एनआइबिएल प्रगति फण्ड ५.२५, नारायणी डेभलपमेन्ट बैंक ५.१६, गुडविल फाइनान्स ४.९४ र सिङ्गटी हाइड्रोपावरका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाए ।



प्रतिक्रिया