पेटमा पानी भरिने समस्याबाट १३ वर्षदेखि ग्रसित श्यामलाल सार्की नेपालीको उपचार वीर अस्पतालमा सुरु भएको छ । विभिन्न सञ्चारमाध्यममा नेपालीको समाचार आएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनमा ४९ वर्षीय नेपालीलाई वीर अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको हो ।
एसाइटिस नामक सो रोगका कारण सन्धिखर्क नगरपालिका–९ नौलापानीका नेपाली हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो । विपन्न, गरिब र दलित परिवारमा जन्मिएका नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्डअन्तर्गत बेड नं १२३ मा उपचार भइरहेको छ । मन्त्री खतिवडाको सचिवालयको नियमित चासो तथा पहरेदारीमा अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निःशुल्क हुने गरी उहाँको उपचार भइरहेको छ । मन्त्री खतिवडाका प्रेस सल्लाहकार सन्तराम बिडारीका अनुसार विरामीको अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायतका परीक्षण भइसकेको छ ।
कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भइरहेको छ । सो पानीसमेत परीक्षणका लागि दिइएको र रिपोर्ट बिहीबार मात्र आउने अस्पतालले जनाएको छ । उक्त रिपोर्ट आएपछि कसरी उपचार गर्ने भन्नेबारेमा चिकित्सक निष्कर्षमा पुग्ने बताइएको छ । बिरामीलाई भर्ना गरेर उपचार थालिएको र अस्पतालमा उपलब्ध भएजतिका औषधि, खानालगायत अन्य व्यवस्था गरिएको र बाहिर किन्नुपर्ने औषधि खर्चका लागि पनि अभियानकर्मीले सहयोग अभियान चलाएका जनाइएको छ ।
यो पनि – सुदूरपश्चिमः थप ११ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ६१२ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरटी पिसीआरमार्फत नौ र एन्टिजेन विधिमार्फत दुई जनामा पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र महाकाली र बाजुरा अस्पतालमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलाली र कञ्चनपुरका एक÷एक जनामा पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०८ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया