नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गर्नुभयो । सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी हुनुभएको छ । सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट (हार्दिक) विजयी हुनुभएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी हुनुभएका सिंहले ३४१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याएउनुभएको छ । क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी हुनुभएको छ । सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी हुनुुभएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी हुनुभएको छ । चन्द प्यालनसहित विजयी हुनुभएको हो । चन्दले ३३० मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याउनुभयो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी हुुनुभएको छ । सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी हुुनुभएको हो ।
पार्टीका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित हुनुभएको छ । बोहराले २४४ मत ल्याउनुभएको छ ।
पार्टी सभापति बोहरा ११ औँ नम्बरमा पर्नुभएको छ । बोहराले महाधिवेशन प्रतिनिधि जितेमा पुनः पार्टी सभापतिका लागि चुनावी मैदानमा ओर्लने चर्चा थियो । महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि पुनः पार्टी सभापति हुने चर्चा त्यसै सेलाएको छ । पूर्व पार्टी सभापति बहादुरसिंह थापाले भने सर्वाधिक ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
त्यस्तै पूर्वसंविधानसभा सदस्य बलदेव बोहरा १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित हुनुभएको छ । दश जना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा रहनुभएको छ ।
यसैगरी, नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित हुुनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उहाँ महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । नेकां केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उहाँका स्वकीय सचिव हुुनुहुन्थ्यो । जोशीले १५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याउनुभएको छ ।
निर्वाचन क्षेत्र ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जङ्गबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया