जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी

जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

दलित महिला सङ्घले मङ्गलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । छुवाछूत अन्त्यका लागि संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री केसीले सामाजिक विभेद संवैधानिकरूपमा अन्त्य भए पनि व्यवहारिकरूपमा त्यो जीवित नै भएको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । सम्मेलन उद्घाटन समारोहमा संविधानसभा सदस्य विनोद पहाडी, प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्मा, दीपा विश्वकर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, बबई नगरपालिकाका उपप्रमुख सावित्रा विश्वकर्मा, बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विश्वकर्मा, सङ्घका अध्यक्ष कला स्वर्णकारलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यो पनि – कांग्रेस महाधिवेशन : काठमाडौँ–३ मा चालिसे, ४ मा सङ्गत विजयी

नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गर्नुभयो । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुनुभएको छ । सदस्यमा मिश्रित परिणाम आएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित हुनुभएको छ ।

यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी हुनुभएको छ ।

दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो ।त्यसैगरी काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिनुभएको छ । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो ।

सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।