काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरुलाई आय आर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम सुरु भएको छ । नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहरलाई ‘मोहर’ बनाउने अभियानअनुरुप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहनुभएको छ । ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्ने गरी सहभागी गराएर तालिम प्रदान गरेको हो ।
नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उहाँको भनाइ छ ।
तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिकरूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा बिक्री गरेर आम्दानी गर्न सकिने छ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै उहाँहरुले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताउनुभयो । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषि तथा फलफूलजन्य उत्पादनको बजारीकरणका लागि कृषि उपज सङ्कलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ । तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहनुभएको छ ।
यो पनि – जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
दलित महिला सङ्घले मङ्गलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । छुवाछूत अन्त्यका लागि संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री केसीले सामाजिक विभेद संवैधानिकरूपमा अन्त्य भए पनि व्यवहारिकरूपमा त्यो जीवित नै भएको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार छुट्टै कानुन वा एकीकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । सम्मेलन उद्घाटन समारोहमा संविधानसभा सदस्य विनोद पहाडी, प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्मा, दीपा विश्वकर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, बबई नगरपालिकाका उपप्रमुख सावित्रा विश्वकर्मा, बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विश्वकर्मा, सङ्घका अध्यक्ष कला स्वर्णकारलगायतले आ–आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया