एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उहाँले भन्नुभयो, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उहाँका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।

महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उहाँको भनाइ छ । यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।

यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि रु एक लाख खर्च हुनेछ । यो फाइबरको बन्ने छ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउनुहुन्छ । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने नेकपा (एमाले)ले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।

यो पनि – कांग्रेस महाधिवेशन : काठमाडौँ–३ मा चालिसे, ४ मा सङ्गत विजयी

नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गर्नुभयो । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुनुभएको छ । सदस्यमा मिश्रित परिणाम आएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित हुनुभएको छ ।

यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी हुनुभएको छ ।

दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो ।त्यसैगरी काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिनुभएको छ । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो ।

सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।