पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुबाहक टाटासुमोले ठक्कर दिएको थियो । गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पैदलयात्रीलाई ठक्कर दिइ जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली आस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – भक्तपुरको सामुदायिक जंगलमा मानव कङ्काल भेटियो
चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिनुभयो । कङ्काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – पुलबाट खसेर साइकलयात्रीको मृत्यु
हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मङ्गलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।टोलीले पीडित प्रतिपरिवारलाई रु १७ हजार, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो ।
जरायोटारमा अन्तक्र्रिया कार्यक्रम
स्थायी पुनःनिर्माण तथा पुनःबास समिति मेलम्ची–११ जरायोटारको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहजीकरणमा एकीकृत बस्तीका वासिन्दालाई उत्पादनसँग जोड्ने विषयमा अन्तक्र्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद् प्रसाशकीय प्रमुख बाबुराम ढुङ्गानाले युवा उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उद्यम गर्न चाहनेका लागि कोषले तीन दशमलव दुई प्रतिशत ब्याजमा रु दुई लाखसम्म कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले बस्ती विकासका लागि नगरले कृषि शाखामार्फत काम गर्न सक्ने बताउनुभयो । आवास निर्माण भए पनि आयआर्जनको उपाय नहुँदा यहाँका बासिन्दामा निराशा छाएको पुनःबास समितिका सचिव रामकुमार सापकोटाले बताउनुभयो । समितिका अध्यक्ष टीकादत्त धितालले जरायोटार एकीकृत बस्तीलाई विभिन्न निकायसँग समन्वय गरी छिट्टै आयआर्जनसँग जोड्ने उल्लेख गर्नुभयो ।



प्रतिक्रिया