आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ । बैठकमा नेपाल–युरोपेली सङ्घबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक–आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको छ भने सङ्घको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गर्नुभएको छ ।नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।
सङ्घको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आउनुभएका दुई उच्च अधिकारी, यहाँस्थित सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज तथा उहाँका सहयोगीलगायत हुनुहुन्छ । कोभिड–१९ का कारण आयोगको १२औँ बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो । प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि वर्षेनी हुँदै आएको छ ।
यो पनि – कांग्रेस महाधिवेशन : कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।
सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्वसांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मीनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टीकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।
यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुलातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया