सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ । दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को बसले बञ्जाडे सवार लु २६प ५८९८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बञ्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिनुभयो ।
दाङमा घाइते तथा अपाङ्गताको बैठकमा सहभागी भएर फर्कँदै गर्दा घर नजिकै बुटवल जीतगढीमा उहाँ दुर्घटनामा पर्नुभएको हो । माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा लाग्नुभएका बञ्जाडेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताले निवासमा पुगेर श्रद्धाञ्जलि दिनुभएको छ । नेता बञ्जाडेको आजै तिलोत्तमास्थित मगरघाटमा संस्कार गर्ने कार्यक्रम छ । अर्घाखाँची धारापानीमा जन्मिनुभएका बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी हुनुहन्छ ।
यो पनि – न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताउनुभएको हो ।
अध्यक्ष दाहालले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताउनुभयो । “न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो”, उहाँले भन्नुभयो, “न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।”
अध्यक्ष दाहालले सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभइ पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइएको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावामा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइएको भ्रम अन्त्य भएको छ ।’’
अध्यक्ष दाहालले अमेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको छु, यसको विषयमा उठेको प्रश्नको सही जवाफ चाहिएको छ भन्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले अहिले नै सरकार यताउता गर्ने भन्ने कुरा नभएको बताउनुभयो । उहाँले आज कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।



प्रतिक्रिया