नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन । जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।
पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार भएको खण्डमा कुनै पनि उम्मेदवारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो । कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो । सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गर्नुभएको थियो । सबैभन्दा कम मत प्राप्त गर्नुभएका उम्मेदवार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ । मङ्सिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
यो पनि – कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा राणा
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो ।सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको कांग्रेस काठमाडौँ क्षेत्र नं १ का नेता सुरजचन्द्र लामिछानेले राससलाई जानकारी दिनुभयो । निर्वाचनबाट सचिवमा रिकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डङ्गोल विजयी हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रवल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित हुनुभएको छ । महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्र्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रैनियार विजयी हुनुभएको छ ।
प्रतिक्रिया