नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको जिकिर गर्नुभयो ।
उहाँले पूर्वबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्ने काम सुरु भइसकेको बताउँदै आउने चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा वितरण गरिसक्ने दाबी गर्नुभयो । उहाँले गणतन्त्र र सङ्घीयताविरुद्ध केही तत्व सडकमा सल्बलाउन लागेको भन्दै आवश्यक परे फेरि विद्रोह गर्ने चेतावनी दिनुभयो ।
अध्यक्ष दाहालले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको उल्लेख गर्दै जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाईं लड्नुपरे आफू तयार रहेको बताउनुभयो । उहाँले जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्व सडकमा उफ्रिँदैमा कसैले पनि जनताको शासन व्यवस्था खोस्न नसक्ने बताउनुभयो ।
अध्यक्ष दाहालले थारु आदिवासी, जनजाति तथा महिलाले अधिकार प्राप्त गरेकोप्रति सही नसक्नेलाई जनताले नै परास्त गर्ने बताउनुभयो । जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भूमि व्यवस्थापनमा आफ्नो पार्टीले विशेष जोड दिएको उहाँको भनाइ थियो । देश र जनता जोगाउन सक्ने एकमात्रै पार्टी माओवादी केन्द्र भएको जिकिर गर्दै उहाँले अन्य पार्टीले पटकपटक देशीविदेशी तत्वसँग घुँडा टेकिसकेको आरोप लगाउनुभयो ।
यो पनि – आर्थिक पुनरुत्थान गर्न निजी क्षेत्रसँग हातेमालो आवश्यक छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने विश्वास दिलाउनुभयो ।
आर्थिक पत्रकार सम्मान केशव गौतलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गर्दै मन्त्री शर्माले कोभिड–१९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिँड्न तयार रहेको बताउनुभयो ।
उहाँले मुलुकको अर्थतन्त्र मजबुत बनाउनै लागि भए पनि सरकारले निजी क्षेत्रको साथ चाहेको उहाँको भनाइ थियो । “मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । यसको वातावरण बन्नेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो, “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजीकरण गर्ने सन्दर्भमा सरकार सधैँ तयार छ । सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भीरतापूक लिएको छु ।”
सो अवसरमा मन्त्री शर्माले मुलुकको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशः विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो । “हाम्रो पूँजी निकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारी–निजी साझेदारीको अहम भूमिका रहन्छ ।” उहाँले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागि गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सिडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको बताउनुभयो । “सिडी रेसियो (कर्जा निक्षेप अनुपात) कार्यान्वयन गरेर वित्तीय संस्था बचाएका छौँ । मुलुकको वित्तीय सही दिशामा रहन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो, “यसले केही सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ ।” गर्भनर अधिकारीले आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी अपरिहार्य रहेको बताउनुभयो । “स्पष्ट पोलिसी, योजनाको कार्यान्वयन र निजी क्षेत्रको सहभागिता देश विकासका लागि महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई नीतिगत व्यवस्थामा वा अन्य उपायले व्यावसायिक सहजीकरण गरिदिनुपर्छ भने निजी क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्छ ।”
यस्तै, कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा डा शिवराज अधिकारीले सरकार र निजी क्षेत्र एकअर्काका लागि परिपूरक भएको बताउनुभयो । “सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिनुपर्छ र निजी क्षेत्रले सहयोगी तथा साझेदारीको रुपमा सरकारलाई सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकार र निजी क्षेत्रबीचको असमझदारीको खाडल पुर्न सकियो भने विकास सम्भव छ, आर्थिक पुनरुत्थान सम्भव छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बाट प्राप्त हुन लागेको सहयोग लिनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसीसी देशका लागि आवश्यक रहेको भन्दै विकाशमा प्रमुख रोल खेल्ने हुँदा स्वागत गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड–१९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको भन्दै तत्काल बैंकले सो समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया