पूँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

पूँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पूँजीगत खर्च उल्लेख्यरूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताउनुभएको हो ।

“यदि पूँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु”, उहाँले भन्नुभयो, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।” उहाँले नयाँ प्रणालीबारे सबै मन्त्रालयलाई अवगत गराएर अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले आयात घटाउने आधार हुँदाहुँदै पनि नघटेकोप्रति समेत असन्तुष्टि जनाउनुभयो । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै उहाँले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल डिजिटलमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्नेसमेत बताउनुभयो ।

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले हुण्डीमार्फत नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताउनुभयो । त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उहाँको भनाइ छ । उहाँले बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्दै पूँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभयो ।

यो पनि – तनहुँ कांग्रेसको नेतृत्वमा युवा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् । तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित हुनुभएको छ । यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित हुनुभएको छ । सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित हुनुभएको छ ।

तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित हुनुभएको छ । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित हुनुभएको छ । दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् ।तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित हुनुभयो । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् । नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहनुभएका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

तनहुँ क्षेत्र नं १ (क) बाट प्रदेश प्रतिनिधिमा अत्यधिक मत ल्याएर निर्वाचित नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले युवा पुस्ताको पार्टीमा आकर्षण बढेको बताउनुभयो । युवा नेविसङ्घ र तरुण दलमा जोडिने तर यी दुवै सङ्गठन निष्क्रिय रहेकाले युवाको पार्टीको नेतृत्वमा आकर्षण बढेको उहाँको बुझाइ छ ।

उहाँले युवाले नेतृत्व चयनमा आफ्नो सहभागिता खोज्न थालेकाले पनि पार्टीको नेतृत्वमा युवा निर्वाचित भएको बताउनुभयो । पार्टीको मूलधारमा युवा आउँदा पार्टी क्रियाशील हुने उहाँको विश्वास छ ।