नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताउनुभएको छ । निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभयो ।
कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा आज जनकपुरधाममा उपसभापति निधिले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गर्नुभयो । उपसभापति निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो ।
निधिले भन्नुभयो, “वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ । पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।” निधिले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यो पनि – कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । विसं २०३८ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग यसअघि कांग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ ।
सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । उहाँ कांग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्यसमेत हुनुहुन्छ । सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएको छ । कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उहाँ दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हँुदैछ ।
प्रतिक्रिया