नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । विसं २०३८ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग यसअघि कांग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ ।
सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । उहाँ कांग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्यसमेत हुनुहुन्छ । सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएको छ । कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उहाँ दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हँुदैछ ।
यो पनि – कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा खड्गी विजयी
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनाअनुसार खड्गीले १८८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १७९ मत प्राप्त गर्नुभयो । सचिवमा उत्तम अधिकारी १९५ र रामशरण पाण्डे १८१, सहसचिवमा श्रीकृष्ण विडारी २११ र रवि सापकोटा १६२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिनुभयो ।
खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २२८, इन्द्रमान महर्जन १९४, भीमसेनदास प्रधान १९१, हरिहर अधिकारी १७८, मनोज भण्डारी १६२, मोहम्मद निजामुद्दीन १४५, रुपकराज कुँवर १५६, सानुभाई सापकोटा १५८, केदारनाथ पाठक १४४ र इच्छाराम कार्की १४७ मत ल्याई विजयी हुनुभएको छ । यस्तै महिला खुलातर्फ हरिप्रभा खड्गी, यासीमा रहमान, जीवन डङ्गोल र अम्बिका शर्मा लामिछाने, पुरुष खस आर्यमा तेजेन्द्रजङ्ग कार्की, इञ्जिनीयर लक्ष्मण केसी र नवराज भण्डारी, महिला जनजाति सावित्री राजभण्डारी र सविता महर्जन निर्वाचित हुनुभएको छ ।
यसैगरी पुरुष आदिवासी जनजातितर्फ सानुकाजी प्रजापति, विजयकुमार लामा र भाइराम खड्गी विजयी हुनुभएको छ । खड्गी र सुशन वैद्यले समान १६७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट खड्गीलाई विजयी घोषणा गरिएको हो । खस आर्य महिलामा सिर्जना ढकाल र कान्ता अधिकारी निर्वाचित हुनुभएको छ । समावेशी समूहअन्तर्गत दलितमा गोविन्द परियार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रमा ३७७ मत रहेकामा ३७५ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ६ मा बागबजार, ठमेल, लैनचौर, सामाखुशी, गोँगबु, टोखा, झोर, महाँकाल, साङ्ला, काभ्रेस्थली, मनमैजुलगायत क्षेत्र पर्दछन् ।



प्रतिक्रिया