बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई रु नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् ।
मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो । मृतकका परिवारलाई दुर्घटना बीमाबापत रु पाँच लाख र चालकको लापरबाहीका कारण युवा नेताको मृत्यु हुन पुगेकाले चालकका तर्फबाट रु चार लाख गरी कूल नौ लाख क्षतिपूर्ति दिने सहमति भएको हो ।
मङ्गलबार डुम्रे बेँसीशहर सडकखण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ भन्सारमा बसको ठक्करबाट स्कुटर चालक विद्यार्थी नेता २४ वर्षीय सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसका चालकको लापरबाहीका कारण सोही दिशामा गुडिरहेको बा४५प २३८ नम्बरको स्कुटर चालक विद्यार्थी नेताको मृत्यु भएको हो । बसका चालकको चरम लापरवाहीका कारण विद्यार्थी नेता देवकोटाको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले शब बुझेका थिएनन् । सहमतिपश्चात् बुधबार साँझ आफन्तजनले शव बुझेर दाहसंस्कारका लागि पालुङटार नै लगेका छन् ।
यो पनि- साढे छ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात
चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो । बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो ।
व्यापार घाटा पाँच खर्ब ६८ अर्ब
चालु आवको चार महिनामा रु पाँच खर्ब ६८ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा रु तीन खर्ब ६२ अर्ब २९ करोड बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ५६ दशमलव ८३ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।
यस्तै, चार महिनाले नेपालले रु सात खर्ब ३२ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले रु चार खर्ब ४२ अर्ब ६९ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५ दशमलव ४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।
१३८ देशबाट आयात
चार महिनाको अवधिमा १३८ देशबाट रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट रु तीन खर्ब ८५ अर्ब ९५ करोड ७० लाख बढीको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु ९४ अर्ब ३० करोड १४ लाख बराबरको आयात भएको छ ।
यस्तै, एक महिनाको अवधिमा भारतमा रु ६६ अर्ब ९४ करोड ३९ लाख र चीनमा रु ३१ करोड १२ लाख बराबरको निर्यात भएको छ ।
डिजेल धेरै आयात
चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा रु ३४ अर्ब ३३ करोड २१ लाख बराबरको डिजेल आयात भएको हो । यस्तै, भटमासको कच्चा तेल रु २७ अर्ब २२ करोड ७१ लाख, २० अर्ब ३५ करोड ८६ लाख बराबरको मोबाइल, रु १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, रु १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र रु १७ अर्ब ६६ करोड ४० लाख बराबरको आइरन, स्टिल आयात भएको छ ।



प्रतिक्रिया