काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । कामपाको ७१ औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित पाँच जना र होटल सङ्घ, नेपालका तर्फबाट चार जना गरी नौ जनाको निर्देशक समिति निर्माण गरिने पनि जनाइएको छ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै कामपा राजस्व विभागका प्रमुखको संयोजकत्वमा सङ्घको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ ।
मङ्गलबार बसेको बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७औँ महानगर दिवस मूल समारोह समिति गठनसमेत गररेको छ । समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्य रहनेछन् । त्यसैगरी बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनःस्थापना केन्द्र नेपाल र मस्तिष्काघात स्वाबलम्बन समूह नेपाल गरी चार वटा संस्थालाई आर्थिक अनुदान गर्ने दिने निर्णय पनि गरेको छ ।
यो पनि – भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि प्रयत्नरत छौँ : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको जिकिर गर्नुभयो ।
उहाँले पूर्वबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्ने काम सुरु भइसकेको बताउँदै आउने चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा वितरण गरिसक्ने दाबी गर्नुभयो । उहाँले गणतन्त्र र सङ्घीयताविरुद्ध केही तत्व सडकमा सल्बलाउन लागेको भन्दै आवश्यक परे फेरि विद्रोह गर्ने चेतावनी दिनुभयो । अध्यक्ष दाहालले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको उल्लेख गर्दै जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाईं लड्नुपरे आफू तयार रहेको बताउनुभयो ।
उहाँले जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्व सडकमा उफ्रिँदैमा कसैले पनि जनताको शासन व्यवस्था खोस्न नसक्ने बताउनुभयो । अध्यक्ष दाहालले थारु आदिवासी, जनजाति तथा महिलाले अधिकार प्राप्त गरेकोप्रति सही नसक्नेलाई जनताले नै परास्त गर्ने बताउनुभयो । जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भूमि व्यवस्थापनमा आफ्नो पार्टीले विशेष जोड दिएको उहाँको भनाइ थियो । देश र जनता जोगाउन सक्ने एकमात्रै पार्टी माओवादी केन्द्र भएको जिकिर गर्दै उहाँले अन्य पार्टीले पटकपटक देशीविदेशी तत्वसँग घुँडा टेकिसकेको आरोप लगाउनुभयो ।



प्रतिक्रिया