प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ । देशव्यापीरुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पु¥याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रुपमा सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको छ ।
लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र सम्वद्र्धनका लागि संवेदनशील हुुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकराको यस अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका निम्ति प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।
यो पनि – प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नुहुनेछ । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उहाँ फर्कनुहुनेछ । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै हुनुहुन्छ । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।



प्रतिक्रिया