नेपाली कांगे्रसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांगे्रसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ ।
कांगे्रसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा पे्रमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन हुनुभएको छ । कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ ।
कांगे्रस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताउनुभयो । उहाँका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई÷दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ । त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । प्रदेश अधिवेशन सम्पन्न गर्न कांगे्रसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको छ ।
यो पनि – एमाले महाधिवेशन : अत्यावश्यक सवारी नरोकिने
नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ––मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ । बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ । तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताउनुभयो ।
पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई व्यवस्थापन गरिएको छ । नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारी साधन बाइपास सडक हुँदै पूर्वतर्फ जाने छन् । पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइने छ । त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइने छ । तामाङले भन्नुभयो, “यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ, अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन् ।”
मानिसको चाप धेरै भएको ठाउँमा सवारी साधनसमेत चलेमा दुर्घटना हुनसक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।



प्रतिक्रिया