शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त

शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ९ मङ्सिर (रासस) : प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो ।

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा विभिन्न आन्दोलनमा शहीद भएकाहरुका परिवारका सदस्यलाई समितिमा नियुक्त गरेको हो । प्रतिष्ठानले सर्लाहीका रामनरेशराय यादव, महोत्तरीकी सिम्पीकुमारी साह, सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाललाई नियुक्त गरेको जनाएको छ ।

नवनियुक्त सदस्यहरुलाई आजै प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गर्नुभयो । मधेशी शहीद प्रतिष्ठान निर्देशिका अनुसार प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार सदस्य तथा मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । प्रमाणपत्र प्रदान गर्नुहुँदै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेको उपचार र उनीहरुका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्थालगायत काममा जुट्न सदस्यहरुलाई निर्देशन दिनुभयो ।

यो पनि – सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाडौँ, ९ मङ्सिर (रासस) : सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।

सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।