नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको ललितपुर जिल्ला कमिटी घोषणासभामा उहाँले चीनले हासिल गरेको प्रगतिबाट हामीले पनि अनुशासित भई आर्थिक पारदर्शिता अपनाएर राष्ट्र निर्माणको शिक्षा लिनुपर्ने बताउनुभयो । समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहनुभएका श्रेष्ठले आफ्नो पार्टी कम्युनिष्ट विचारमा मूलधारको पार्टी भएकाले यस सिद्धान्तप्रति आस्थावान समूहलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले समाजवादी विचारबाट निर्देशित सञ्चारकर्मीले जनताको चाहना अनुसार सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य अमृत तिमिल्सिनाले समाजका विभिन्न तहमा जनतालाई परेका समस्यालाई समाचार बनाएर उनीहरुका आवाजलाई पार्टीका नीति तथा कार्यक्रममा जोड्न सञ्चारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले देशमा विकास, स्थायित्व र राजनीतिक स्थिरताका लागि जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई अवसर दिएको भए पनि तत्कालीन नेतृत्वमा भएको अहङ्कारले कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईँ, वामपन्थी नेता हरिकृष्ण थापा, पत्रकारद्वय विश्वमणि सुवेदी र सविन शर्माले कलमजीवी पत्रकार श्रमजीवीको पक्षमा क्रियाशील रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सौगात मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको घोषणा गरिएको थियो ।
यो पनि – विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । पार्टीको आसन्न एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई समावेश गरी विधानमा आवश्यक विषयवस्तु परिमार्जन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा हुन लागेको अधिवेशनमा केन्द्रीत रहेको उक्त बैठकमा अधिवेशनलाई व्यवस्थित बनाउने निर्णय भएको छ । देशविदेशबाट अधिवेशनमा सहभागी हुन आउने विभिन्न पाहुना तथा प्रतिनिधिको व्यवस्थापन, अधिवेशनका लागि गठन गरिएका विभिन्न समितिका कार्यप्रगतिबारे पनि समीक्षा गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) एकता भएपछि अन्तरिम विधानले सञ्चालन भएको उक्त पार्टीले पहिलोपटक एकता महाधिवेशन गर्न लागेको छ ।



प्रतिक्रिया