निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ । राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखाङ्कन तथा प्रतिवेदनको लागि आठ वटा फारामको ढाँचा तोकिएको छ । लेखा राख्नको लागि सम्बन्धित फाराममा नै फाराम भर्ने निर्देशिका समेतको व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४० मा राजनीतिक दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने उल्लेख छ । दलले राख्ने लेखाको ढाँचा आयोगले तोक्ने व्यवस्था रहेको छ ।
सबै राजनीतिक दलहरू तथा सम्बन्धित विज्ञसँग सुझाव सङ्कलन गरी प्राप्त सुझाव समावेश गरी दलको आय र व्ययको लेखाको ढाँचा तोकिएको जानकारी दिइएको छ । उक्त नयाँ व्यवस्थाले राजनीतिक दलको आर्थिक कारोबार व्यवस्थित, पारदर्शी र एकरूपता हुने आयोगले विश्वास लिएको छ ।
यो पनि – कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धितर्फ प्रेरित गर्छ : नेता श्रेष्ठ
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालको ललितपुर जिल्ला कमिटी घोषणासभामा उहाँले चीनले हासिल गरेको प्रगतिबाट हामीले पनि अनुशासित भई आर्थिक पारदर्शिता अपनाएर राष्ट्र निर्माणको शिक्षा लिनुपर्ने बताउनुभयो । समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहनुभएका श्रेष्ठले आफ्नो पार्टी कम्युनिष्ट विचारमा मूलधारको पार्टी भएकाले यस सिद्धान्तप्रति आस्थावान समूहलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले समाजवादी विचारबाट निर्देशित सञ्चारकर्मीले जनताको चाहना अनुसार सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य अमृत तिमिल्सिनाले समाजका विभिन्न तहमा जनतालाई परेका समस्यालाई समाचार बनाएर उनीहरुका आवाजलाई पार्टीका नीति तथा कार्यक्रममा जोड्न सञ्चारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले देशमा विकास, स्थायित्व र राजनीतिक स्थिरताका लागि जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई अवसर दिएको भए पनि तत्कालीन नेतृत्वमा भएको अहङ्कारले कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईँ, वामपन्थी नेता हरिकृष्ण थापा, पत्रकारद्वय विश्वमणि सुवेदी र सविन शर्माले कलमजीवी पत्रकार श्रमजीवीको पक्षमा क्रियाशील रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सौगात मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको घोषणा गरिएको थियो ।



प्रतिक्रिया