जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ । सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।
गत २०७७ चैत १६ गते जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका मगरको परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम सङ्घीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो । मृतक परिवारलाई चेक हस्तान्तरण गर्नुहुँदै प्रजिअ बाँस्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको बताउनुभयो ।
यो पनि – मधेसी शहीद प्रतिष्ठान गठन
प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो । मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत छ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
प्रतिष्ठानको निर्देशिका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र माओवादी सशस्त्र द्धन्दका दुई÷दुई जना शहीद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ । शहीद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाल तथा मधेस आन्दोलनका शहीद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई प्रतिष्ठानमा नियुक्त गरेको छ ।
चार जना शहीद परिवारबाट सदस्य नियुक्त भएकालाई आज एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गर्नुभएको छ । प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यलाई निर्देशनसमेत दिनुभयो ।



प्रतिक्रिया