कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताउनुभएको छ ।समाजवादी पे्रस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताउनुभयो ।

तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उहाँले भन्नुभयो, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।” एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत आइपुग्नुभएको हो ।

यो पनि – कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धितर्फ प्रेरित गर्छ : नेता श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको ललितपुर जिल्ला कमिटी घोषणासभामा उहाँले चीनले हासिल गरेको प्रगतिबाट हामीले पनि अनुशासित भई आर्थिक पारदर्शिता अपनाएर राष्ट्र निर्माणको शिक्षा लिनुपर्ने बताउनुभयो । समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहनुभएका श्रेष्ठले आफ्नो पार्टी कम्युनिष्ट विचारमा मूलधारको पार्टी भएकाले यस सिद्धान्तप्रति आस्थावान समूहलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले समाजवादी विचारबाट निर्देशित सञ्चारकर्मीले जनताको चाहना अनुसार सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य अमृत तिमिल्सिनाले समाजका विभिन्न तहमा जनतालाई परेका समस्यालाई समाचार बनाएर उनीहरुका आवाजलाई पार्टीका नीति तथा कार्यक्रममा जोड्न सञ्चारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले देशमा विकास, स्थायित्व र राजनीतिक स्थिरताका लागि जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई अवसर दिएको भए पनि तत्कालीन नेतृत्वमा भएको अहङ्कारले कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईँ, वामपन्थी नेता हरिकृष्ण थापा, पत्रकारद्वय विश्वमणि सुवेदी र सविन शर्माले कलमजीवी पत्रकार श्रमजीवीको पक्षमा क्रियाशील रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सौगात मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको घोषणा गरिएको थियो ।