सुदूरपश्चिम प्रदेशमा बिहीबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५७५ जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरडिटी पीसीआरमार्फत तीन र एन्टिजेन विधिमार्फत तीन जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलालीका दुई र कञ्चनपुरका एक जनामा पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।
यो पनि – थप ३०८ मा कोरोना सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४२४ पुगेको छ । पछिल्लो समय थप २९८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४२० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट तीन जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३४९ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९६१, संस्थागत आइसोलेशनमा ३८८, सघन उपचार कक्षमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदैछ ।



प्रतिक्रिया