पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट आज टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ । उक्त सडकखण्डको मिनी मार्केटमा आज मध्याह्न ना२ख ९३७० नं को ट्रक मोड्ने क्रममा दिएको ठक्करबाट पैदलयात्री थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि आक्रोशित स्थानीय बासिन्दाद्वारा मध्याह्नदेखि अवरुद्ध पारिएको सडक साँझ प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले घटनापछि उत्पन्न तनावको स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रयोग र हवाई फायरसमेत गर्नुपरेको बताउनुभयो । आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । घटनालगत्तैबाट उक्त सडकमा आवागमन बन्द हुँदा गन्तव्यतर्फ गइरहेका सयौँ सङ्ख्याका यातायातका साधन बीच बाटोमै रोकिएका थिए । साँझ शव उठाएर परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि- सेनालाई पाँच थान ट्रक सहयोग
नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गर्नुभएको हो ।
नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले यस्ता सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप प्रगाढ हुनुका साथै सेनाको कार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।



प्रतिक्रिया