राप्रपाको महाधिवेशनका लागि राजनीतिकसहितका कार्यपत्र पारित

राप्रपाको महाधिवेशनका लागि राजनीतिकसहितका कार्यपत्र पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने एकता महाधिवेशनका सन्दर्भमा सामाजिक, राजनीतिक र आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ । पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर राणाद्वारा प्रस्तुत ‘सामाजिक कार्यपत्र’, कमल थापाद्वारा प्रस्तुत ‘राजनीतिक कार्यपत्र’ र डा प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत ‘आर्थिक कार्यपत्र’ परिमार्जनसहित पारित गरिएको हो ।

विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी मस्यौदा पनि परिमार्जनसहित पारित गरिएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

यो पनि – निर्वाचन आयोगद्वारा दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत

निर्वाचन आयोगले राजनीतिक दलको आय र व्ययको लेखा राख्ने ढाँचा स्वीकृत गरेको छ । राजनीतिक दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखाङ्कन तथा प्रतिवेदनको लागि आठ वटा फारामको ढाँचा तोकिएको छ ।

लेखा राख्नको लागि सम्बन्धित फाराममा नै फाराम भर्ने निर्देशिका समेतको व्यवस्था गरिएको निर्वाचन आयोगका सहसचिव शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४० मा राजनीतिक दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी लेखा राख्नुपर्ने उल्लेख छ । दलले राख्ने लेखाको ढाँचा आयोगले तोक्ने व्यवस्था रहेको छ ।

सबै राजनीतिक दलहरू तथा सम्बन्धित विज्ञसँग सुझाव सङ्कलन गरी प्राप्त सुझाव समावेश गरी दलको आय र व्ययको लेखाको ढाँचा तोकिएको जानकारी दिइएको छ । उक्त नयाँ व्यवस्थाले राजनीतिक दलको आर्थिक कारोबार व्यवस्थित, पारदर्शी र एकरूपता हुने आयोगले विश्वास लिएको छ ।