नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।
महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।
यो पनि – नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)को कार्यसमितिबीच एकीकरण
खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गर्नुभएको छ । गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्यूरो सदस्य एवं प्रदेश सचिवालय सदस्यलगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फँुयालबीच गत कात्तिक २५ गते मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाड्नुभएका पूर्वसांसद फँुयाल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो ।
यसैबीच एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तहमा सङ्गठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियान सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म चार स्थानीय तहमा सङ्गठन विस्तार तथा कार्यालय स्थापनाको काम सकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले जन्तेढुङ्गा, बराहपोखरी र केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा आफ्नो सङ्गठन विस्तार एवं कार्यालय स्थापनाको काम सम्पन्न गरेको छ । सङ्गठन विस्तार तथा कार्यालय स्थापनाका लागि जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य चाम्लिङ, सहइन्चार्ज वीरबलकाजी राई, प्रदेश समिति सदस्य उदयबहादुर कार्कीलगायत नेता भूगोलमा खटिएका छन् ।
क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका बालक समृद्ध राईले आफ्नो जन्मदिनको अवसरमा गरिने खर्च क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गर्नुभएको छ । काठमाडौँको विद्या संस्कार (साविकको चेल्सी इन्टरनेशनल स्कुल)को कक्षा–३ मा अध्ययनरत समृद्धले आठ वर्ष पूरा गरी नौ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार जिपी मेमोरियल कलेज चाबहिल काठमाडौँका क्याम्पस प्रमुख मोहनराज राईलाई नगद रु आठ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका क्याम्पस प्रमुख राईलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित समृद्धले आर्थिक सहयोग गर्दै जन्मदिन मनाएको आमा रिङ्कु राईले जानकारी दिनुभयो । बालक राईले उपेन्द्रनाथ तिम्सिनामार्फत क्याम्पस प्रमुख राईकी श्रीमती शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
प्रतिक्रिया