नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी हुनुभएको छ । क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहनुभएका खगेन्द्र आफ्ना प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३४४ मतसहित क्षेत्रीय सभातिमा विजयी हुनुभएको छ । यस्तै सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी हुनुभएको कांग्रेसले जनाएको छ ।
यस्तै क्षेत्र नं २ मा क्षेत्रीय अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गर्दै ३१९ मत प्राप्त गर्नुभएको कांग्रेसले बताएको छ । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी हुनुभएको छ भने सहसचिवमा कदमबहादुर कटवाल विजय हुनुभएको कांग्रेसका प्रवक्त मदनराज कटुवालले बताउनुभयो ।
५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनका लागि ५० केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस उदयपुरका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट २५ र क्षेत्र नं २ बाट २५ सहित कूल ५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जिल्ला पार्टी प्रवक्ता कटुवालले बताउनुभयो ।
यो पनि – कांग्रेस जिल्ला अधिवेशन आज
नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो ।कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिनुभयो ।
रसुवाबाहेक हिमाल र पहाडका एक निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको भए पनि एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको भने जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो । यसअघि दुई निर्वाचन क्षेत्र भएको गोरखामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ ।हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताउनुभयो । आज देशभरका ३० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढ्ने घिमिरेको भनाइ छ ।



प्रतिक्रिया