थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ । माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो । विगत डेढ महिनादेखि उहाँको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित हुनुभएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उहाँका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन जानुभएको छ । उहाँहरुको आजैदेखि स्वास्थ्य उपचार हुनेछ । जण्डिसले पिरोलेपछि नेता पुन गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताउनुभयो । नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गर्नुभएको बताइएको छ ।

यो पनि – मौसम सफा हुन अझै केही दिन लाग्ने

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । “अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भन्नुभयो ।

मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।