राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन् ।
विभागले उक्त राजस्व रकम असुल गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ । उनीहरुमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजस्व छली गरेको विभागको आरोप छ । उनीहरुले मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड १९ र आयकरतर्फ २० करोड अन्ठाउन्न लाख ७५ हजार राजस्व छली गरेको पाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
दर्तावाल लेखा परीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका–७ नादीका आरवी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबावु साहमाथि उक्त फर्मको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी राजस्व छलीमा मतियारको काम गरेको आरोप छ । शाहलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसमेत) बमोजिम मुख्य प्रतिवादीलाई हुनेभन्दा आधा सजाय माग दाबी गरिएको छ ।
यो पनि – आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न
नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा हुनुभएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभयो ।
बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट हुनुहुन्छ । नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७८ साल मङ्सिर ९ गतेको निर्णयबाट उहाँहरू प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति हुनुभएको हो ।
उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेकामा उहाँहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्दशेन दिनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार बहन गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन पनि आग्रह गर्नुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया