देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ । पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।
यो पनि – सुदूरपश्चिम : थप पाँच जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६३९ जनाको नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरटी पीसीआरमार्फत चार र एन्टिजेन विधिमार्फत एक जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा छ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।



प्रतिक्रिया