राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा भोलि एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ । सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिने माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले बताउनुभयो ।
उहाँका अनुसार सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ । जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था छ ।पालिका तहको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको संयोजक गैरेले जानकारी दिनुभयो । सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अबलम्वन गरिने उहाँको भनाइ छ ।
माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । गत शनिबार देशभरका वडाहरुमा एकसाथ अधिवेशन भएको थियो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
यो पनि – कांग्रेस सुर्खेतको सभापतिमा आकांक्षी धेरै
नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिका लागि आकांक्षी धेरै देखिएका छन् । जिल्ला सभापतिका लागि मात्र १० भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन् । जिल्ला सभापतिका लागि कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, टोपबहादुर रावत नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा सभापतिका आकांक्षी रहनुभएको छ । बुढा यसअघि १३औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी हुनुहुन्छ । देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाका मेयर हुनुहुन्छ । यस्तै गरी शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भोगि सक्नुभएको छ । यसअघि भएका वडा, नगर र क्षेत्रका अधिवेशनमा संस्थापन समूहले जितेको छ ।



प्रतिक्रिया