मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताउनुभएको छ । फाउण्डेशन फर क्रिटिकल डिस्कोर्ष नेपालले आज यहाँ आयोजना गरेको ‘समकालीन पूँजीवाद र नेपालमा समाजवादी आन्दोलन’ विषयक छलफलमा नेता खनालले विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिनुभयो ।

माक्र्सको पूँजीवादी पालादेखि हालको वैज्ञानिक समाजवादको सुरुआत चरणको व्यवस्थाबारेमा सम्मानित नेता खनालले धारणा राख्नुभएको थियो । उहाँले क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुनेमा जोड दिनुभयो । उहाँले दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताउँदै अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राख्नुभयो । दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अशेष घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला, डा खगेन्द्र प्रसाईँलगायतले राष्ट्रिय पूँजीको माध्यमबाट उत्पादन बढाउन त्यसका स्रोत र साधनलाई समाजको नियन्त्रणमा राख्नुपर्नेमा जोड दिँदै जनतासम्म प्रतिफल पु¥याउन न्यायोचित वितरण प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

यो पनि – एमाले महाधिवेशनको बन्दसत्रमा विदेशी पार्टीहरुको शुभकामना

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिनुभयो ।

पार्टीका महासचिव ईश्वर पोखरेलको सञ्चालनमा सुरु भएको बन्दसत्रमा उपस्थित भएर शुभकामना दिनेमा कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका अम्दुल्लाह अल काफी चौधरी, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का जोगिन्दर शर्मा, भारतीय कम्युनिष्ट पार्टीका पल्लव सेन गुप्ता, कम्बोडियन पिपुल्स पार्टीका स्वोस याराले शुभकामना दिनुभयो । उहाँहरूले दुई पार्टी र आफ्ना देशहरुबीचको आपसी सम्बन्ध अझ मजबुद हुनेमा जोड दिनुभयो । भारतीय जनता पार्टीका हर्षवद्र्धन शुक्रबारको उद्घाटनसत्रमा सहभागी भई फर्कनुभएको थियो ।

यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चावोले पठाउनुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले भारतको कंग्रेस आइका अध्यक्ष सोनिया गान्धीले पठाउनुभएको शुभकामना सन्देश पनि प्रस्तुत गर्नुभएको थियो । साथै अन्य विभिन्न देशका राजनीतिक दलका तर्फबाट प्राप्त शुभकामना सन्देश प्रस्तुत गर्नुभयो । यस्तै टर्की, रुस, भियतनाम, श्रीलङ्कालगायत मुलुकका पार्टीबाट प्राप्त सन्देश सुनाइएको थियो ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्दसत्र सञ्चालन भइरहेको छ । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा शुक्रबार पार्टीका अध्यक्ष ओलीबाट भएको थियो ।