नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिनुभयो ।

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा शनिबार सहभागी विदेशी पाहुना । साथमा पार्टी नेता केपी शर्मा ओली । तस्बिरः प्रदीपराज वन्त÷रासस
पार्टीका महासचिव ईश्वर पोखरेलको सञ्चालनमा सुरु भएको बन्दसत्रमा उपस्थित भएर शुभकामना दिनेमा कम्युनिष्ट पार्टी अफ बङ्गलादेशका अम्दुल्लाह अल काफी चौधरी, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का जोगिन्दर शर्मा, भारतीय कम्युनिष्ट पार्टीका पल्लव सेन गुप्ता, कम्बोडियन पिपुल्स पार्टीका स्वोस याराले शुभकामना दिनुभयो । उहाँहरूले दुई पार्टी र आफ्ना देशहरुबीचको आपसी सम्बन्ध अझ मजबुद हुनेमा जोड दिनुभयो । भारतीय जनता पार्टीका हर्षवद्र्धन शुक्रबारको उद्घाटनसत्रमा सहभागी भई फर्कनुभएको थियो ।
यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चावोले पठाउनुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले भारतको कंग्रेस आइका अध्यक्ष सोनिया गान्धीले पठाउनुभएको शुभकामना सन्देश पनि प्रस्तुत गर्नुभएको थियो । साथै अन्य विभिन्न देशका राजनीतिक दलका तर्फबाट प्राप्त शुभकामना सन्देश प्रस्तुत गर्नुभयो । यस्तै टर्की, रुस, भियतनाम, श्रीलङ्कालगायत मुलुकका पार्टीबाट प्राप्त सन्देश सुनाइएको थियो ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्दसत्र सञ्चालन भइरहेको छ । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा शुक्रबार पार्टीका अध्यक्ष ओलीबाट भएको थियो ।
यो पनि – माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा ः मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताउनुभएको छ । दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।” २१आँै शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उहाँको भनाइ थियो ।
वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया