गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही जिल्ला अधिवेशन घोषणासभालाई आज भैरहवामा सम्बोधन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विधिको शासन अवलम्बन हुने उल्लेख गर्नुभयो ।
गृहमन्त्री खाँणले भन्नुभयो, “नेपाली कांग्रेस कमजोर भएमा जनता मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यता, संविधान र जनताको मौलिक अधिकार कमजोर हुन्छ ।” जनता र संविधान सवल तुल्याउन, शान्ति सुरक्षा कामय गर्न तथा मुलुकलाई समृद्धि र विकासतर्फ लैजान कांग्रेसलाई बलियो तुलाउन आवश्यक रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का तुल्याउन अधिवेशनमार्फत रुपन्देहीले नयाँ आयम, सन्देश र नमूना प्रस्तुत गरेको भनी प्रशंसा गर्नुभयो ।
नवनिर्वाचित सभापति रामकृष्ण खाँणले निर्वाचित सदस्यलाई पार्टीलाई गतिशिल साझा तथा कार्यकर्तालाई उत्साहित तुल्याएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने मुख्य दायित्व लिएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सो अवसरमा सहभागी अन्य वक्ताले राजनीतिकका कारण मात्र मात्र होइन विविध हिसाबले रुपन्देहीले सम्भावना बोकेकाले नवनिर्वाचित क्षेत्रीय, नगर र पालिकासभापति एकढिक्का भएर पार्टी हितका लागि अघि बढन सुझाव दिनुभयो ।
यो पनि – समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पार्टी मुलुकका आम जनताको हित गर्ने पार्टी रहेको बताउनुभएको छ ।गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा आज बोल्दै उहाँले समाजवादी अन्याय र अत्याचारका विरुद्धमा परेका जनताको हितमा सदैव लड्ने पार्टी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्रोहको जगमा निर्माण भएको यस पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिष्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नेछ ।” समाजवादी गरिब तथा सर्वहारा जनताको हित गर्ने पार्टी रहेको बताउँदै भेदभाव समाप्त पार्ने दाबी गर्नुभयो ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एमालेमा विचार र निष्ठा कम हुँँदै भएको आरोप लगाउनुभयो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको धारणा राख्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधि एकीकृत समाजवादीमा रहेको दाबी गर्नुभयो । आज आयोजित कार्यक्रमबाट ठाकुर घिमिरेको अध्यक्षतामा ७५ सदस्यीय कमिटीको घोषणा तथा शपथग्रहण सम्पन्न भएको छ ।
सो कमिटीका उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन रहनाका साथै सचिवमा राजन महर्जन र उपसचिवमा नवीन महर्जन, शारदा घिमिरे दुलाल र रुदिना महर्जन रहनुभएको छ । सो कार्यक्रममा नगर कमिटीको तत्काल बैठक बसी स्थानीय विकास तथा जनताको सेवामा पार्टी पङ्क्ति परिचालित हुने र भ्रष्टाचार ढिलासुस्ती तथा अपारदर्शिता विरुद्धमा पार्टी अभियान केन्द्रित गर्ने बताइएको थियो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा केन्द्रीय निर्वाचन आयोग प्रमुख माधव पौडेल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य उमेश शर्मा, सरला केसी, राधा सिलवाल, जिल्ला अध्यक्ष हरिकृष्ण थापा, केन्द्रीय परिषद् सदस्य रामसिंह महर्जन, रामशरण बस्नेत, अनुशासन आयोगका सदस्य रामकुमार वान्तवा, केन्द्रीय सल्लाहकार मीरा थामीलगायतका नेताहरूको उपस्थिति थियो ।



प्रतिक्रिया