नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ । अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५÷२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नुहुनेछ । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लष्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी उक्त प्रस्ताव गर्नुहुने जनाउनुभयो । तर सो प्रस्तावलाई उपाध्यक्ष डा भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराउनुभयो । आजको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गर्नुभयो । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाउनुभयो ।
महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सर्वसम्मतिका लागि आज नेताहरू आन्तरिक छलफलमा थिए भने कार्यकर्ताले दबाब दिएका थिए । बन्दसत्रका क्रममा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताउनुभयो । उहाँले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सवैलाई रहेको बताउनुभयो । बन्दसत्र आइतबार १० बजे पुनः सञ्चालन हुनेछ ।
यो पनि – कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही जिल्ला अधिवेशन घोषणासभालाई आज भैरहवामा सम्बोधन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विधिको शासन अवलम्बन हुने उल्लेख गर्नुभयो ।
गृहमन्त्री खाँणले भन्नुभयो, “नेपाली कांग्रेस कमजोर भएमा जनता मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यता, संविधान र जनताको मौलिक अधिकार कमजोर हुन्छ ।” जनता र संविधान सवल तुल्याउन, शान्ति सुरक्षा कामय गर्न तथा मुलुकलाई समृद्धि र विकासतर्फ लैजान कांग्रेसलाई बलियो तुलाउन आवश्यक रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का तुल्याउन अधिवेशनमार्फत रुपन्देहीले नयाँ आयम, सन्देश र नमूना प्रस्तुत गरेको भनी प्रशंसा गर्नुभयो ।
नवनिर्वाचित सभापति रामकृष्ण खाँणले निर्वाचित सदस्यलाई पार्टीलाई गतिशिल साझा तथा कार्यकर्तालाई उत्साहित तुल्याएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने मुख्य दायित्व लिएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । सो अवसरमा सहभागी अन्य वक्ताले राजनीतिकका कारण मात्र मात्र होइन विविध हिसाबले रुपन्देहीले सम्भावना बोकेकाले नवनिर्वाचित क्षेत्रीय, नगर र पालिकासभापति एकढिक्का भएर पार्टी हितका लागि अघि बढन सुझाव दिनुभयो ।
प्रतिक्रिया