भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्ने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । आज नेकपा (माओवादी) केन्द्र चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले तराईका विभिन्न जिल्लामा रहेका भूमि भएको तर हातमा लालपूर्जा नभएका पीडित व्यक्तिहरू, भूमिहीन सुकुम्वासी र उपत्यकामा रहेको लालपूर्जा विहिन स्ववासीको समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले अब भूमिहीनको विषयलाई लिएर कसैले पनि राजनीति गर्न नपर्ने र कसैको पनि समस्या बाँकी नरहने गरी समस्या समाधान गर्न आफू कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले आगामी पुससम्ममा भूमिहिन सुकुम्वासी र लालपूर्जा विहिन स्ववासीलाई लालपूर्जा वितरण गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले अब छोरीको नाममा पनि अंशियार कायम हुने संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयनमा ल्याउने गरी आफूले काम गरिरहेको बताउँदै अब आमा, श्रीमति र छोरी पनि अंशियारकै रूपमा मालपोतमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो । माओवादी केन्द्रका युवा नेता डिपी ढकालले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने गरी जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
त्यसैगरि आजै माओवादी केन्द्र सूर्यविनायक नगर कमिटीको प्रथम नगर अधिवेशनको र भक्तपुर नगरपालिका नगर कमिटीको प्रथम नगर अधिवेशनको पनि सुरु भएको छ । आजको दुईवटै नगर अधिवेशनको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापतिले उद्घाटन गर्नुभयो ।
यो पनि – मायादेवीको कविता सङ्ग्रह ‘जिन्दगी’ लोकार्पण
साहित्यकार मायादेवी गुरुङको पहिलो साहित्यिक कृति (कविता सङ्ग्रह) ‘जिन्दगी’ लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङले सो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । कोहीले पनि भाषाको विरोध गर्नुभन्दा सिर्जनामा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “भाषाको विरोधभन्दा सिर्जनामा लाग्नु अहिलेको आवश्यकता हो”, गुरुङले भन्नुभयो । भाषा र संस्कृतिको प्रवद्र्धनमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले कवयित्री गुरुङले सानैदेखि साहित्यको अध्ययनमा रुचि राख्ने गर्नुभएकाले सिर्जना गर्न प्रेरणा मिलेको बताउनुभयो । “साहित्यको अध्ययनले नै कविता लेख्ने बाटो देखाएको हो”, उहाँले भन्नुभयो ।
साहित्यकार माया ठकुरीले नारी अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा ‘जिन्दगी’ कविता सङ्ग्रहले आवाज उठाएको उल्लेख गर्नुभयो । अनमेल विवाह र छोरीप्रतिको हेलाको भावबारे कविताले जागरणको काम गर्ने उहाँको भनाइ थियो । समालोचक ज्ञानु अधिकारीले विदेशमा बस्दा स्वदेशी याद आध्यात्मिक भावनाका कविताका रूपमा नेपाली साहित्य फाँटमा देखापरेको बताउनुभयो । कवितामा वर्तमानमा संवेदना हराउँदै गएका मानिसप्रति चिन्ता व्यक्त गरिएको छ । जिन्दगीका खुसी र पीडालाई कवियित्रीले कविताका माध्यमबाट सार्वजनिक गर्नुभएको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा अनेसासका सल्लाहकार सुमल गुरुङ, उपाध्यक्ष राजेन्द्र केसी, कवयित्रीका पति विजय गुरुङ, कवयित्री गुरुङ, दीपा राई, प्रा डा रामप्रसाद दाहाल, रत्नबहादुर गुरुङ, अनेसास नेपाल शाखाका अध्यक्ष सन्ध्या पहाडी, प्रा डा खगेन्द्रप्रसाद लुइँटेललगायतले कविता सङ्ग्रहका कविता वाचन गर्नुभएको थियो । सो सङ्ग्रहमा ५३ कविता समावेश छन् । एक सय नौ पृष्ठको सो पुस्तकको मूल्य रु २०५ र विदेशमा पाँच डलर कायम गरिएको छ । अनेसास बेलायत शाखाले उक्त पुस्तक प्रकाशन गरेको हो । यसअघि उहाँका विभिन्न कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।



प्रतिक्रिया