पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।
नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
नयाँ भेरियन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा अधिकारीको जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालमा कोभिड–१९ सङ्क्रमितको सङख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन । स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ ।” नयाँ भेरियन्टको कोरोना जित्नेबारे थप अनुसन्धान भइरहेको छ ।
यो पनि – आज थप २१३ मा कोरोना सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४६८ पुगेको छ । पछिल्लो समय थप ३२५ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ४७ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
तीनको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख १५ हजार ४३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १५६ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ७६१, संस्थागत आइसोलेशनमा ३५९, सघन उपचार कक्षमा १७८ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।
यो पनि – कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द
बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिनुभयो ।
ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो ।
नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।
अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ ।अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ।
त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ । तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ ।
यो पनि -कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पार्नुभयो । “सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।
पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उहाँले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।तत्कालका लागि भने ती देशबाट आउनेहरुलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उहाँले बताउनुभयो ।
त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिनुभयो । तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दावी पनि गर्नुभयो । तर पुरानै संस्करणको कोरोनाभाइरसको सङ्क्रमण भने अझै पनि फैलिइनै रहेको छ । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।



प्रतिक्रिया