नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ । जिल्ला निर्वाचन समितिका अनुसार गाउँ र नगरपालिका अधिवेशन स्थगन गरी प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको समय सार्वजनिक गरेको हो ।
जिल्लाभित्र पर्ने अधिवेशनको प्रक्रिया अघि बढाएको भए पनि गाउँ÷नगरपालिका अधिवेशन पछि हुने गरी हाललाई रोकिएको उल्लेख गरिएको छ । जिल्लामा नेताको सहमतिबाटै जिल्लास्थित ती क्षेत्रीय अधिवेशनको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।
प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुने समय तोकिएकाले यसअघि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समितिको ठहर छ । यसले कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको जनाइएको छ । यस्तै जिल्लामा रहेको १४ पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने सम्भावना देखिएको हो ।यसअघि कांग्रेसको १२ र १३औँ महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो ।
यो पनि – भक्तपुर कांग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उहाँले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सो अवसरमा नेता कवेँले भन्नुभयो, “कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीनवटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।”
कार्यक्रममा कांग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कांग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । यसअघि कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
प्रतिक्रिया